धरान उपमहानगरपालिका उपनिर्वाचन : नेकपाबाट तीनजना सिफारिस

सुनसरी । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा धरान उपमहानगरको प्रमुख पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तीनजनाको नाम सिफारिस गरेको छ ।

शुक्रबार बसेको नेकपा उपमहानगर कमिटीको पूर्ण बैठकले जिल्ला सदस्य तथा सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का संयोजक प्रकाश राई, जिल्ला सदस्य तथा धरान नगर इन्चार्ज फोक्वाहाङ सुब्बा (चोत्लुङ) तथा जिल्ला सदस्य वेणु काफ्लेको नाम सिफारिस गरेको हो ।

अन्य दलहरुले उम्मेदवार टुंगो लगाई चुनावी अभियानमा होमिसक्दा पनि नेकपामा भने उम्मेदवार छनोटमै अल्झिरहेको छ । कात्तिक १४ गते बिहिबार नगर कमिटीको सचिवलय बैठकले उम्मेदवारको सिफारिस गर्ने भनिए पनि सचिवलयको वैधतामाथि प्रश्न उठेपछि बैठक बसेन ।

सिफारिस गरिएको नाम जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पुगी टुङ्गो लाग्ने नेकपा धरान उपमहानगर सचिव सुर्दशन श्रेष्ठले बताए। नेकपा केन्द्रीय कमिटीले कात्तिक १० गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिए पनि आकांक्षी धेरै भएकाले उम्मेदवारको टुङ्गो लगाउन नेकपालाई निकै ठुलो सकस परेको थियो ।

यसअघि धरान उपमहानगरको प्रमुख पदमा केन्द्रीय सदस्य किरण राई, प्रदेश सदस्य विजय राई, रमेश बस्नेत, मनोजकुमार मेयाङबो, आइन्द्रविक्रम बेघा, जिल्ला सदस्य प्रकाश राई, पदम इम्बो, तीर्थ मास्के, चोत्लुङलगायत एक दर्जनभन्दा बढीको नाम आएकाले उम्मेदवार सिफारिसमा सकस भएको पार्टी सचिव सुदर्शन श्रेष्ठले बताए । श्रेष्ठका अनुसार कात्तिक २० गतेसम्म उम्मेदवारको टुंगो लागेर आउने छ ।

error: Content is protected !!