गुल्मीमा नेकपाले लगायो उम्मेदवारको टुङ्गो

गुल्मी । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवारको टुङ्गो लगाएको छ ।

गुल्मीको रुरु गाउँपालिका–६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिए ।

सिञ्जाली सोही वडाका वडासदस्य हुन् । उनलाई वडासदस्य पदबाट राजीनामा गराई वडाध्यक्ष पदमा उम्मेदवार बनाइने सचिव कार्कीले जानकारी दिए ।

नेपाली कांग्रेसले भने अझै उम्मेदवारको टुङ्गो लगाएको छैन । पार्टीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले अबको केही दिनमै उम्मेदवारको नाम सर्वसम्मतरूपमा चयन गरिने बताए ।

पहिलेकै उम्मेदवारको नाम चयन गर्ने सम्भावना रहेको उनको भनाइ थियो । रुरु गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा कांग्रेस र पूर्वमाओवादी केन्द्रको तालमेल थियो । तर पूर्वएमालेले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित वडा नं ६ मा पनि जीत हाँसिल गरेको थियो ।

वडा नं ६ का वडाध्यक्ष पूर्णबहादुर रेग्मीको २०७५ साल साउन १३ गते निधन भएको थियो । उनले ६२८ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वेदबहादुर दर्लामीले ६१९ मत ल्याएका थिए ।

विसं २०७४ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनअनुसार उक्त वडामा कूल एक हजार ९६७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद पोखरेलले जानकारी दिए ।

गुल्मीदरबार गाउँपालिका–७ का वडासदस्य थम्मनबहादुर बस्नेतको पनि ०७४ साल भदौ २६ गते निधन भएको थियो । तर वडाध्यक्ष, स्थानीय तहको उपाध्यक्ष, अध्यक्ष, प्रदेश र प्रतिनिधिसभा सदस्यबाहेक अन्य सदस्यहरुको हकमा पुनः निर्वाचन हुने व्यवस्था छैन ।

error: Content is protected !!