चाडपर्व सुरक्षार्थ पश्चिम नवलपरासीमा ४८४ प्रहरी परिचालन

मोहन पौडेल
परासी, १ कात्तिक । चाडपर्वको बेला हुन सक्ने अप्रिय घटना तथा अपराधिक क्रियाकलाप नियन्त्रण गर्न नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)मा व्यापक प्रहरी परिचालन गरिनुका साथै प्रहरीले विशेष सतर्कता बढाएको छ । नेपालीहरुकौ मूख्य चाडपर्वहरु बडादशैँ, तिहार,छठ लगायतका पर्वहरु शुरु हुन लागेकोले विशेष सुरक्षा योजना बनाएर व्यापक रुपमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ ।
चाडपर्वलाई मध्यनजर गर्दै हुन सक्ने अप्रिय घटनाहरु नियन्त्रण गर्न जिल्लाभर २४ औँ घण्टा प्रहरी तैनाथ हुने गरी योजना बनाएर लागू गरिएको जिल्ला प्रहरी कार्यालय परासीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिनुभयो । “नागरिकले सुरक्षित महशुस गरी पर्व मनाउन सक्ने वातावरण बनाउन हामीले उच्च सतर्कता र निगरानी बढाएका छौँ”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार चाडपर्वलाई लक्षित गरी जिल्ला भित्र रहेका बैङ्क, वित्तिय संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, बसपार्क लगायत भीडभाड हुने स्थानहरुमा गस्ती, पेट्रोलिङ्,सोधपुछ गर्ने र जिल्लाको समग्र शान्ति सुरक्षाको व्यवस्थापन गर्न जिल्लामा ४८४ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ ।
चाडपर्व मनाउन घर फर्किने यात्रुहरुको आवातजावत सहज बनाउन जिल्लाको तोनवा, ज्यामिरे, भूमही, बर्दघाट टिसीएन चोक र महेशपुरमा गरी पाँच वटा स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु लामाले बताउनुभयो । त्यहाँँ यात्रुको सहायताका साथै कोरोना भाईरसको जोखिमबाट बच्न स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरे÷नगरेको जाँच गरिने उहाँले बताउनुभयो ।
महिला, बालबालिका, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरुलाई यात्राको क्रममा कुनै हिङ्सा भएमा तत्कालै उद्दार गरी कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय बर्दघाट र बेलाटारीमा गरी तीन वटा प्रहरी कार्यालयमा स्टेण्डवाई टोली खटाईएको छ ।
तीव्र गति, क्षमता भन्दा बढी भार, मादक पदार्थ सेवन गरी सवारी चलाउने, झुण्डिएर यात्रा गरी हुन सक्ने सवारी दुर्घटना, सवारीमा लुटपाट जस्ता घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीसहितको सवारी साधनमा राजमार्ग गस्ती टोली खटाएको छ ।
प्रनाउ लामाका अनुसार जिल्लाभर २७ वटा स्थानमा ट्राफिक प्रहरीसहितको पिकेट तथा जाँच डियुटी खटाईएको छ भने अपराधिक क्रियाकलापको बारेमा खवर सङ्कलन गर्नको लागि २५ जना प्रहरी अधिकृत तथा जवानहरुको दश वटा विशेष प्रहरी टोली खटाईएको छ । जिल्ला भित्र कुनै स्थानमा अप्रिय घटना भएमा तत्काल थप मद्दत आवश्यक परेमा तुरुन्त परिचालन हुने गरी जिल्ला प्रहरी कार्यालय परासी र ईलाका प्रहरी कार्यालय बर्दघाटमा दुई÷दुई वटा रिजर्भ तथा स्ट्राईकिङ् टोली स्टेण्डवाई राखिएको छ ।
कुनै पनि घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल परिचालन हुने गरी प्रत्येक प्रहरी यूनिटमा क्वीक रेस्पोन्स टीम(क्यूआरटी) टोली पनि स्टेण्डवाई राखिएको प्रहरीले जनाएको छ । “पर्वको बेला हुन सक्ने गुण्डागर्दी, चोरी, लुुटपाट, झैझगडा जस्ता क्रियाकलाप नियन्त्रण गर्न २४ औँ घण्टा प्रहरी तैनाथ रहने गरी जिल्लाभर सात वटा गाडी मोबाईल गस्ती, पाँच वटा ग्रामीण गस्ती र २१ वटा अन्य प्रहरी गस्ती परिचालन गरिएको छ”, प्रनाउ लामाले भन्नुभयो ।
कार्यालयका अनुसार सीमा क्षेत्रमा हुने चोरी तस्करी, लुटपाट लगायतका अपराधिक क्रियाकलाप निरुत्साहित गर्न सीमा क्षेत्रमा पैदल तथा सवारी गरी सात वटा प्रहरी गस्ती टोली परिचालन गरिएको छ । चाडपर्वका बेला हुन सक्ने अप्रिय घटना तथा अपराधिक क्रियाकलापलाई केन्द्रित गरी सन्देश मूलक अडियो सामग्री तयार गरी समुदायमा स्थानीय वासिन्दाहरुलाई सचेत गराउने कार्यक्रम पनि व्यापक रुपमा भईरहेको प्रहरीले जनाएको छ ।
जुवा तास लगायतका अवैद्य गतिविधि नियन्त्रण गर्न पनि छुट्टै प्रहरी टोली खटाईएको छ । कोरोना महामारीको त्रास कायमै रहेकोले सजगता र स्वास्थ्य मापदण्ड अपनाउन तथा विशेष सतर्कता अपनाएर चाडपर्व मनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ । कुनै अप्रिय घटना भएमा तत्काल नजिकको प्रहरी कार्यालयमा खवर गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

error: Content is protected !!