प्रहरीद्धारा रु २१ लाखको दुई पिकअपसहित अवैध युरिया मल बरामद

मोहन पौडेल
परासी, २४ साउन – नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) प्रहरीले आज ठूलो मात्रामा अवैध युरिया मल बरामद गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय परासीबाट खटिएको गस्ती टोलीले सोधपुछको क्रममा रामग्राम नगरपालिका–५ वाईपास चोकबाट दुई वटा बोलेरो पिकअप गाडीसहित २१ लख चार हजार ३०० रुपैँया बराबरको युरिया मल बरामद गरेको हो ।
महेशपुरबाट परासीतर्फ आउँदै गरेका ना ४ च ८३८८ र ना ५ च २९२६ नं. को बोलेरो पिकअप रोकी सोधपुछ गर्ने क्रममा दुवै सवारीसाधनबाट गरी १४९ बोरा अवैध युरिया मल ओसारपसार गरिरहेको पाईएपछि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिनुभयो । मलसँग सम्बन्धित कुनै पनि कागजात फेला नपरेपछि चालकसहित पिकअप र युरिया मल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बरामद युरिया मल प्रति बोरा ५० केजीका दरले १४९ बोरामा सात हजार ४५० केजी रहेको प्रहरी उपरीक्षक केसीले बताउनुभयो । बरामद युरिया मलको बजार मूल्य प्रति बोरा रु ७०० का दरले एक लाख चार हजार ३०० रुपैँया र प्रति पिकअप दश लाखका दरले दुई वटाको रु २० लाख गरी कूल २१ लख चार हजार ३०० रुपैँयाको सामान बरामद भएको प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।
बरामद गरिएको मल भारतबाट अवैध रुपमा भित्राई पोखरातर्फ लैजान लागिएको हुन सक्ने प्रहरीको अनुमान छ । नियन्त्रणमा लिएको दुईवटा पिकअप, दुई जना चालक र १४९ बोरा युरिया मल आजै आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।

error: Content is protected !!