रोकिएन पुरातात्विक क्षेत्र रामग्राम स्तुपमा खेतीपाती

मोहन पौडेल
परासी, ५ साउन । नवलपरासी ९बर्दघाट–सुस्ता पश्चिम० स्थित पुरातात्विक तथा ऐतिहासिक स्थल रामग्राम स्तूप क्षेत्रमा स्थानीय बसिन्दाले रोपाइँ गरेका छन् ।

भगवान गौतम बुद्धको अस्तिधातु रहेको उक्त स्थलमा विभिन्न पुरातात्विक वस्तु तथा भग्नावशेष रहेका बताइएको छ । स्तूपको पश्चिमतर्फको अधिग्रहण भइसकेको जग्गामा वर्षौंदेखि खेतीपाती गर्दै आएको स्थानीय बासिन्दाले बताएका छन् ।

स्थानीय खदेरु हरिजनले दुई कट्ठाभन्दा बढी जग्गामा धानखेती गरेका छन् । लुम्बिनी विकास कोषले अधिग्रहण गरिसकेको जग्गा भए पनि आफूलाई कसैले पनि खेती गर्न रोक नलगाएको खदेरुकी बुहारी रेश्मी हरिजनले बताए ।

“हामीले वर्षौंदेखि यहाँ खेती गर्दै आएका छौँ, अहिले पनि रोपाइँ गरियो, तारबार गरेर रोक लगाएपछि छोडौँला”, उनले भने । कोषले अधिग्रहण गरेर उनलाई जग्गाको मुआब्जा दिइसकेको छ । स्थानीयवासीले यहाँको जमिनको महत्व नबुझ्दा खेतीपाती गर्ने र गाईभैँसी चराउने गर्दै आएका छन् ।

अधिग्रहण गरिएको र उत्खनन् हुन बाँकी रहेका जग्गामा यसरी हुने उत्खनन् तथा जोतभोग कार्यलाई तत्काल रोक लगाई संरक्षण गर्नुपर्ने यहाँका सरोकार पक्षले जोड दिएका छन् । कोषले स्तूप रहेको भागबाहेक अधिग्रहण गरेको अन्य भाग तारबार गरेर संरक्षण नगर्दा यहाँका पुरातात्विक वस्तु नष्ट हुने अवस्था रहेको स्थानीय सुनिल कोइरीले बताए ।

कोषले स्तूप वरपरको २०० मिटर क्षेत्रमा तारबार गरेको छ । स्तूप क्षेत्रमा गत वर्ष गरिएको जियो फिजिक्स सर्भेको क्रममा समेत विभिन्न महत्वपूर्ण पुरातात्विक संरचना रहेकाले हुँदा उक्त क्षेत्रमा कुनै संरचना नबनाउन र माटो खन्नसमेत नहुने सर्भे टोलीले सुझाएको थियो ।

कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतिले अधिग्रहण गरिसकेको जग्गामा खेती गर्न नमिल्ने बताए । “त्यहाँ खेती भइरहेको हामीले पनि भर्खरै थाहा पायौँ, अधिग्रहण गरिसकेको जग्गामा खेती गर्न मिल्दैन, अहिले खेती लगाइसकेकाले अबदेखि त्यहाँ खेती गर्न रोक लगाउँछौँ”, उहाँले भन्नुभयो । हाल स्तूप २४ बिघा क्षेत्रफलमा फैलिएको अनुमान छ । कोषले स्तूप क्षेत्रमा जग्गा अधिग्रहणको पनि तयारी गरेको छ । सन् २०१८ मा गरिएको जियो फिजिक्स सर्भेका क्रममा पनि स्तूपको उत्तरतर्फको खाली जमिनमा ठूलो क्षेत्रफलमा फैलिएको विहार र पोखरी रहेको देखाएको थियो ।

विश्वसम्पदा सूचीमा सूचिकृतको प्रक्रियामा रहेको रामग्रामलाई विश्वसम्पदा सूचिमा समावेशका लागि यथेष्ट प्रमाण सङ्कलन गर्न र रामग्रामको विकासका लागि बनाइएको गुरुयोजनालाई पूर्णता दिनसमेत गतवर्ष स्तूपको समग्र क्षेत्र समेट्ने गरी बृहत् अध्ययन गरिएको थियो ।

इतिहासविद् डा डब्लु होइद्वारा पत्ता लगाइएको रामग्राम स्तूप क्षेत्रमा सन् १९९७, १९९९ मा पनि जियो फिजिक्स सर्भे सम्पन्न भएको थियो । सर्भेबाट स्तूप क्षेत्र वरपर विहार देखिएपछि पुरातत्वविद् शुक्रसागर श्रेष्ठको नेतृत्वमा सन् १९९९ देखि २००४ सम्म विभिन्न चरणमा रामग्रामको उत्खनन् गरिएको थियो ।

त्यसबखत स्तूपको उत्तर, पश्चिम र पूर्वमा उत्खनन् गर्दा बौद्ध विहार तथा मौर्यकालीन संरचना फेला परेको पुरातत्व विभागका वरिष्ठ पुरातत्व अधिकृत रामबहादुर कुँवरले जानकारी दिए । त्यसपछि भने लामो समयदेखि रामग्राम स्तूपको उत्खनन् हुन सकेको छैन । कोषले तयार गरेको रामग्रामको गुरुयोजना पनि यसै वर्षदेखि कार्यान्वयन गर्ने सरकारले बजेट, नीति तथा कार्यक्रममा घोषणा गरिसकेको छ ।

उनका अनुसार भगवान् शाक्यमुनि बुद्धको महापरिनिवार्णपश्चात् तत्कालीन आठ गणराज्यले आफ्नो भागमा पाएका अस्तु धातुमध्ये कोलिया गणराज्यले आफ्नो भागमा पाएको अस्तुधातु राखी रामग्राम स्तूपको निर्माण गरिएको हो ।

सम्राट अशोकले इसापूर्व २४९ मा लुम्बिनी लगायतका बुद्धस्थलको भ्रमण गरी आठ राज्यले बुद्धको अस्तुधातु राखी बनाइएका स्तूप उत्खनन् गरी त्यसलाई विभक्त गरी ८४ हजार ससाना स्तूप बनाउने क्रममा रामग्राममा आउँदा यहाँका नागाराजाले रोकेर अस्तुधातु उत्खनन् गर्न नदिएकाले बुद्धका आठ अस्तुधातु प्रयोग गरी बनाइएका स्तूपमध्ये रामग्राममा अवस्थित स्तूपमात्र पवित्र र उत्खनन् नभएको स्तूपका रुपमा मानिन्छ । रासस

error: Content is protected !!