पाल्हीनन्दनको लोहरौलीमा प्राविधिक शिक्षालय

मोहन पौडेल
परासी, २७ असार । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकामा प्राविधिक शिक्षालय स्थापनाको कार्य अघि बढाईएको छ । गाउँमै प्राविधिक शिक्षालय स्थापना हुन थालेपछि यहाँका विद्यार्थीहरुमा खुशीयाली छाएको छ ।
प्राविधिक शिक्षालय सञ्चालनका लागि गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणको काम शुरु गरेको हो । गाउँपालिकाको लोहरौलीस्थित जनता माविको परिसरमा शिक्षालय सञ्चालनका लागि आवश्यक भवन निर्माणको काम शुरु गरिएको गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)ले जानकारी दिनुभयो ।
“सङ्घीय सरकारबाट चालु आवमा शसर्त अनुदानमा प्राप्त रु तीन करोडको लागतमा यस वर्षदेखि प्राविधिक शिक्षालयको भवन निर्माण थालिएको हो, यो बहुवर्षीय योजना अन्र्तगत बन्ने भएकोले यसको पूर्ण पूर्वाधार निर्माण गर्न रु १७ करोड ९२ लाख विनियोजन भएको छ, डिपीआर तयार भएर सङ्घीय सरकारबाट स्वीकृत भईसकेको छ”, उहाँले भन्नुभयो ।
पछिल्लो समय प्राविधिक शिक्षाको माग बढ्दै गएपनि स्थानीयस्तरमा यो शिक्षाको पहुँच नहुँदा यहाँका विद्यार्थीहरु बुटवल, काठमाडौँ लगायतका शहरमा गएर अध्ययन गर्नुपर्ने बाध्यता थियो । अबको दुई वर्ष भित्रै पूर्वाधार निर्माण सम्पन्न गरेर प्राविधिक शिक्षालय सञ्चालन गरिने अध्यक्ष गुप्ताले बताउनुभयो ।
स्थानीय तहमा व्यावसायिक शिक्षा प्रदान गर्न प्राविधिक शिक्षालय स्थापनाको काम अघि बढेपछि प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई सहज हुने भएको छ । ईन्जिनियरिङ्, ओभरसियर लगायत स्थानीय परिवेश र स्रोत साधनको उपयोग हुने विषयहरुमा स्नातक तहसम्मको प्राविधिक शिक्षा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँमै प्राविधिक शिक्षालय सञ्चालन भएर अध्ययन गर्न पाएपछि स्वरोजगार र व्यवसायिक बन्न सजिलो हुने भन्दै स्थानीय सन्दिप धवलले खुशी व्यक्त गर्नुभयो । “प्राविधिक शिक्षा अध्ययन गर्ने चाहना भएपनि स्थानीय स्तरमा पहुँच नहुनु र टाढा गएर अध्ययन गर्न आर्थिक अभाव हुने समस्या थियो, अव गाउँमै स्थापना हुने भएपछि हामी जस्ता युवाहरुलाई सहज हुनेछ”, उहाँले भन्नुभयो ।

error: Content is protected !!