२४३ प्रहरी जवान दीक्षित

मोहन पौडेल
परासी, २५ असार । प्रहरी सेवामा प्रवेशसँगै आधारभूत तहको तालीम प्राप्त गरी २४३ जना प्रहरी जवानहरु दीक्षित भएका छन् । प्रहरी युक्ति तालीम महाविद्यालय जर्गाहा नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)मा सञ्चालित आधारभूत तालीम तेस्रो समूहमा सहभागी प्रहरी जवानहरुलाई आज एक समारोहकाबीच दीक्षान्त गरिएको हो । 
महाविद्यालयमा नौ महीनाको तालीम पश्चात दीक्षित भएका प्रहरी जवानहरुले सङ्गठनको परिचय, काम, कर्तव्य अधिकार, सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान, प्रहरी युक्ति तथा कारवाही, शारीरिक व्यायाम, चाँदमारी, कवाज लगायतमा प्रशिक्षण पाएको तालीम संयोजक प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिनुभयो । 
महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुंवरले तालीमबाट प्राप्त ज्ञान, सीप र कौशलताको उच्चतम् प्रयोग गरी देश र जनताको सेवामा जोश र जाँगरका साथ खटिन निर्देशन दिनुभयो । कार्यक्षेत्रमा खटिदाँ सङ्गठनले दिएको जिम्मेवारी अनुसार शान्ति सुरक्षा, पीडितलाई न्याय, नागरिकमैत्री सेवा, जोखिममा रहेका नागरिकको संरक्षणमा उत्कृष्ट कार्यसम्पादन गर्न उहाँले आग्रह गर्नुभयो । नागरिकलाई केन्द्रमा राखी राष्ट्रको सर्वोपरी हितमा व्यवसायिक क्षमता प्रदर्शन गर्न उहाँले निर्देशन पनि दिनुभयो । 
तालीममा उत्कृष्ट प्रशिक्षार्थी तथा प्रशिक्षकहरुलाई प्रबउ कुंवरले पुरस्कृत गर्नुका साथै दीक्षित प्रहरी जवानहरुलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको महाविद्यालयका प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारुी दिनुभयो । उक्त अवसरमा तालीम प्राप्त प्रहरी जवानहरुले कवाज तथा कौशल प्रदर्शन गरेका थिए । 
कोभिड १९ को महामारीका कारण उनीहरुका अभिभावक विनै दीक्षित गरिएको उहाँले बताउनुभयो । प्रहरी सेवाको लोकतान्त्रिक रुपान्तरणलाई सुनिश्चित गर्न नेपाल प्रहरीमा शुरु नियुक्ति हुने प्रहरी जवान पदका लागि सञ्चालन हुने आधारभूत तालीमको पाठ्यक्रमको सान्दर्भिक एवं व्यवासायिक दक्षता, सफल अनुसन्धान, अपराधको रोकथाम तथा न्यूनीकरण,सबल शान्ति सुरक्षा, लोकतान्त्रिक, लैङ्गिक मैत्री तथा मानवअधिकारको संरक्षण गर्ने जनशक्ति विशेष  गरी प्रहरी जवानहरु त्यार गर्नका लागि उक्त तालीम प्रभावकारी हुने महाविद्यालयले जनाएको छ ।

error: Content is protected !!