कुनै पनि बहानामा शुल्क नलिन विद्यालयलाई संयुक्त विद्यार्थी संगठन नवलपरासीको माग

परासी, १३ असार । मुलुक लकडाउनको अवस्थामा रहेका बेला कुनै पनि बहानामा शुल्क नउठाउन पश्चिम नवलपरासीका संयुक्त विद्यार्थी संगठनले विद्यालयहरुको ध्यानाकर्षण गराएका छन् । जिल्लाका क्रियाशिल विद्यार्थी संगठनहरुको आज भूमहीमा बसेको संयुक्त बैठकले विभिन्न बहानामा शुल्क उठाउने कार्य नगर्न विद्यालयहरुलाई आग्रह गरेका हुन् ।
उनीहरुले बन्दाबन्दीको यो समयमा नयाँ विद्यार्थी भर्ना सम्बन्धि प्रचारप्रसार तथा विज्ञापन नगर्न पनि चेतावनी दिएका छन् । विद्यार्थी संगठनहरुले अधिकांश सामुदायिक विद्यालयहरु क्वारेन्टिनको रुपमा प्रयोगमा रहेकोले विद्यार्थीको सिकाई वातावरण बनाउन विभिन्न वैकल्पिक माध्यमबाट शिक्षण विधि अघि बढाउन पनि माग गरेको अनेरास्ववियूका जिल्ला अध्यक्ष शुसान्त शर्मा घिमिरेले बताउनुभयो । बैठकपछि संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा विद्यार्थी संगठनहरुले आफूहरुको मागप्रति वेवास्त गरि कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।
बैठकमा अनेरास्ववियूका जिल्ला अध्यक्ष शुसान्त शर्मा घिमिरे, नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष राजन भण्डारी, अखिल क्रान्तिकारीका प्रज्वल, जनता समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य व्यासमुनि यादव लगतयतको सहभागिता थियो ।

error: Content is protected !!