रामग्राम जेसीजद्धारा एकल महिलालाई आत्मनिर्भर बनाउन सिलाई मेशिन हस्तान्तरण

मोहन पौडेल
परासी, ९ असार । एकल महिलालाई आत्मनिर्भर बनाई उनीहरुको जीवनस्तर माथी उकास्न रामग्राम जेसीज परासीले एकल महिला समूहलाई सिलाई मेसिन निशुल्क वितरण गरेको छ । उद्योग वाणिज्य संघ नवलपरासीका कार्यबाहक अध्यक्ष ओमप्रकाश अग्रहरीको प्रमुख आतिथ्यमा आज परासीमा एक समारोहका बीच रामग्राम जेसीज वर्ष २०२० का अध्यक्ष सन्दिप अग्रहरीले मानवअधिकारका लागि महिला, एकल महिला समूह नवलपरासीकी अध्यक्ष विष्णु थापालाई उक्त मेशिन हस्तान्तरण गर्नुभएको हो ।
एकल महिलाहरुलाई सिलाई पेशातर्फ आर्कषित गरी आत्मनिर्भर बनाउने उद्देश्यले सिलाई मेसिन वितरण गरिएको जेसीजका अध्यक्ष अग्रहरीले बताउनुभयो । साथै उहाँले आफुले सिकेको सिपलाई सक्दो उपयोग गरी स्वरोजगार बन्न आग्रह गर्नुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघका कार्यबाहक जिल्ला अध्यक्ष ओमप्रकाश अग्रहरीले रामग्राम जेसीजले गरेको यो सहयोगले एकल महिलाको जीवन उकास्न महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले रामग्राम जेसीजले यस वर्ष उत्कृष्ट कार्य गर्दै राष्ट्रिय स्तरमै छुट्टै पहिचान बनाउन सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो । मेशिन ग्रहण गर्दै मानवअधिकारका लागि महिला, एकल महिला समूहकी जिल्ला अध्यक्ष विष्णु थापाले रामग्राम जेसीजले आफ्नो व्यक्तिगत खर्चबाट सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
रामग्राम जेसीज वर्ष २०२० का अध्यक्ष सन्दिप अग्रहरीको अध्यक्षता तथा नवलपरासी उद्योग वाणिज्य संघका कार्यबाहक जिल्ला अध्यक्ष ओमप्रकाश अग्रहरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा रामग्राम जेसीजका पूर्व अध्यक्ष राजकुमार रेश्मी, मानवअधिकारका लागि महिला एकल महिला समूहकी जिल्ला अध्यक्ष विष्णु थापा, पत्रकार गौरीशंकर जयसवाल, रामग्राम जेसीजका महासचिव चन्द्रमणी चौधरी, कार्यक्रम संयोजक सुनिता श्रेष्ठ, कार्यकारी उपाध्यक्ष सदन पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभयो ।

error: Content is protected !!