सरावलमा कोभिड विशेष कृषि कार्यक्रम लागू, १०० कृषकले अनुदान पाउने

मोहन पौडेल
परासी, २६ जेठ । कोरोना भाइरसका कारण नेपाल फर्कने युवाहरुलाई लक्षित गर्दै प्रदेश नं. ५ सरकारले शुरु गरेको कोभिड विशेष कृषि कार्यक्रम पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले लागू गरेको छ । उक्त कार्यक्रमका लागि रु २२ लाख बजेट प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।
कोभिड विशेष कृषि कार्यक्रमबाट गाउँपालिका भित्रका एक सय जना कृषक लाभावन्ति हुने प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी दिनुभयो । यस सम्बन्धी सूचना प्रकाशित भईसकेकोेले पन्ध्र दिन भित्र सम्पर्क गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।
सरकारले कोभिड–१९ का कारण विदेशबाट फर्केकाहरुको लागि प्रोत्साहन गर्ने जनाएको छ । सो कार्यक्रममा व्यावसायिक खेतीका लागि मल विषादी, ससाना औजार, प्लाष्टिक घर, च्याउ घर, खोर निर्माण गर्न सहयोग गरिने भएको छ । उक्त कार्यक्रमको लागि प्रति किसान २० हजारका दरले सहयोग गरिने अधिकृत पौडेलले बताउनुभयो । विदेशबाट फर्केका र व्यवसाय उन्मुख कृषकहरुलाई कृषि विकास प्रोत्साहन कार्यक्रम शुरु गरिएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताउनुभयो ।
तरकारी खेती, माहुरीपालन, च्याउखेतीमा अनुदान पाउनका लागि निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र वा विदेश बाट फर्केको भए प्रमाणपत्रको फोटोकपी, प्रस्ताव ढाँचा, सम्बन्धीत वडा कार्यालयको सिफारिस पत्र, सम्बन्धीत वडा कार्यालयमा निवेदन दर्ता गराउनुपर्ने हुन्छ ।

error: Content is protected !!