नेकपा नवलपरासीको बैठक – नयाँ नक्सा कार्यान्वयनमा जोड, मल आपूर्ति सहज बनाउन माग

मोहन पौडेल
परासी, २४ जेठ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पश्चिम नवलपरासीले रासायनिक मलको सहज आपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेकपाको आज परासीमा बसेको जिल्ला कार्यालय बैठकले रासायनिक मलको अभाव देखिएको भन्दै सहज आपूर्ति व्यवस्था गर्न प्रदेश र संघीय सरकारसँग जोडदार माग गरेको जनाएको छ ।
नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजादको अध्यक्षता तथा केन्द्रीय सदस्य, प्रदेश सहईन्चार्ज एवं प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त बैठकले नेपाल सरकारले हालै लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्सा जारी गरेकोमा स्वागत र धन्यवाद व्यक्त गर्दै कुटनीतिक पहलबाट कार्यान्वयन गराउन जोडदार माग पनि गरेको छ ।
कोरोना भाईरसको जोखिम नियन्त्रण तथा रोकथामका लागि क्वारेन्टाईन व्यवस्थापन र लकडाउनको कार्यान्वयन प्रभावकारी गरिएको भन्दै स्थानीय तहहरुलाई नेकपाले धन्यवाद व्यक्त गरेको पार्टीका जिल्ला सचिव तुलसी पासीले जानकारी दिनुभयो । बैठकले प्रदेश सरकारको निर्देशन अनुसार जिल्लामा दुई सय शैयाको आईसोलेशन सेन्टर निर्माण गर्न पनि ध्यानाकर्षण गराएको छ ।
नेकपा नवलपरासीले पार्टी र जनप्रतिनिधिबीच आगामी जेठ २७ गते बैठक गर्ने निर्णय पनि गरेको सचिव पासीले बताउनुभयो । जनप्रतिनिधिको लेबी २०७६ भाद्रदेखि लागू हुने गरी कडाईका साथ कार्यान्वयन गर्ने निर्णय पनि गरिएको उहाँले बताउनुभयो ।
नेकपाको आज बसेको बैठकले रुकुम पश्चिम घटनाको सत्यतथ्य छानविन गरी दोषि माथि कडा कारवाही गर्न सम्बन्धीत निकायसँग माग गरेको जिल्ला अध्यक्ष भविश्वर तिवारीले बताउनुभयो । उक्त घटनामा मृत्यु हुने नवराज विकसहित मृत्तक प्रति श्रद्धान्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ ।
यसैगरी पार्टीका जिल्ला सचिवालय सदस्य सीताराम चौधरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धान्जली व्यक्त गरेको अध्यक्ष तिवारीले बताउनुभयो । बैठकमा नेकपाका प्रदेश कमिटी सचिवालय सदस्य भगवती भण्डारी, प्रदेश कमिटी सदस्यहरु बृहस्पति अधिकारी, रामानन्द यादव, सुर्य न्यौपाने लगायतको पनि सहभागिता रहेको थियो ।

error: Content is protected !!