भारतीय आमनिर्वाचनको समयमा ह्वाट्सएपको प्रयोग गरेर जासूसी भएको खुलासा

एजेन्सी । फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपले एक आश्चर्यजनक खुलासा गरेको छ ।

उसका अनुसार पछिल्लो भारतीय आमनिर्वाचनको समयमा पत्रकार तथा मानव अधिकारकर्मीमाथि निगरानी गर्नको लागि इजरायलको स्पाईवेयर पेगाससलाई प्रयोग गरिएको थियो । 

सन फ्रान्सिस्कोस्थित एक अमेरिकी संघीय अदालतमा ह्वाट्सएपले मुद्दा हालेपछि यसको खुलासा भएको हो । 

मुद्दामा ह्वाट्सएपले इजरायली एनएसओ समूहले पेगासस सफ्टवेयरमार्फत झण्डै १४०० ह्वाट्सएप प्रयोगकर्ता निसाना बनेको उल्लेख गरेको छ ।  

तथापि, ह्वाट्सएपले भारतमा निगरानीको लागि निशाना बनाइएको मानिसको सटीक संख्या र तिनको पहिचान खुलासा गर्न अस्वीकार गरेको छ। 

तथापि ह्वाट्सएपका प्रवक्ताका अनुसार निसाना बनाइएका प्रत्येकलाई सम्पर्क गरिएको छ । 

ह्वाट्सएपका प्रवक्ताले यस विषयमा प्रष्टीकरण दिँदै भने ,‘भारतीय पत्रकार र मानवाधिकार कार्यकर्ताहरुको निगरानी गरिएको हामीले पत्ता लगाएको छौं । तथापि म तिनको पहिचान र सटीक संख्यालाई खुलासा गर्न सक्दिनँ । म यत्ति भन्न सक्छु कि संख्या थोरै छैन ।’

ह्वाट्सएपले निसानामा परेका भारतका कम्तिमा पनि दुई दर्जन शिक्षाविद्, वकिल, दलित कार्यकर्ता र पत्रकारलाई सम्पर्क गरेर सचेत गराएको छ । 

ह्वाट्सएपले तिनलाई सचेत गराए अनुसार सन् २०१९ मेमा दुई हप्ताको अवधिको लागि तिनको फोन अत्याधुनिक सफ्टवेयरमार्फत निगरानी गरिएको थियो । 

एनएसओ समूह र क्यू साइबर टेक्नोलोजीविरुद्ध दायर मुद्दामा तिनले प्रयोगकर्ता र क्याालिफोर्निया कानुनका अतिरिक्त ह्वाट्सएपको सेवा सर्तका उलंघन गरेको उल्लेख छ । 

कम्पनीको दावी अनुसार एक मिस्ड–कल दिएर निशाना बनाइएका मानिसहरुका फोन ह्याक गरिएको थियो । 

ह्वाट्सएपले थप भनेको छ ,‘ हाम्रो विश्वासमा यस आक्रमणबाट नागरिक समाजका कम्तिमा १०० सदस्यलाई निशाना बनाइएको छ । यो अपराध हो । थप पीडितको जानकारी पत्ता लाग्दै गएपछि संख्यामा बढ्न सक्छ ।’

एनएसओ समूहले फोन ह्याकसम्बन्धी आरोपमा प्रतिक्रिया दिएको छ । ‘हामी आफूमाथि लागेको आरोपलाई खण्डन गर्छौं । हामी सम्पूर्ण बल लगाएर यसको सामना गर्नेछौं । हाम्रा प्रविधि मानवाधिकार कार्यकर्ता र पत्रकारविरुद्ध उपयोग गर्न बनेको होइन । न त त्योसँग त्यस्तो अधिकार छ ।’

एनएसओले पेगासस केबल सरकारी एजेन्सीलाई बेचिएको बताएको छ । उसले भनेको छ,‘ हामी आफ्नो उत्पादनलाई लाइसेन्स प्राप्त र वैध सरकारी एजेन्सीलाई मात्र बेचिरहेका छौं ।’

सन् २०१८ सेप्टेम्बरमा क्यानडास्थित साइबर सुरक्षा समूह सिटिन ल्याबले एनएसओको निगरानी गतिविधिबारे सचेत गराएको थियो । त्यो बेला सिटिन ल्याबले भनेको थियो ,‘ हामीले भारतसमेत ४५ देशमा संदिग्ध एनएसओ पेगासस हमला भएको जानकारी पाएका छौं । ३६ पेगासस संचालकमध्य ३३ मा जोडिएका थिए । 

अरब मानवअधिकार कार्यकर्ताहरुले सिटिन ल्याबलाई सम्पर्क गरेर आफूहरुमाथि निगरानी गरिँदै गरेको आशंका व्यक्त गरेपछि सिटिन ल्याबले जाँच गरेको थियो । 

ठीक त्यही समयमा एनएसओ समूहले पत्रकार जमाल खशोगीको साउदी अरबको इस्तानबुलस्थित दूतावासमा हत्या हुनुभन्दा अघि उनलाई पत्ता लगाउनको लागि स्पाइवेयर प्रयोग भएको संकेत प्राप्त भएपछि साउदी अरबसँग सम्झौता रद्द गरेको थियो । 

ह्वाट्सएपका अनुसार तिनको प्लाटफर्ममा आउने जाने सन्देशहरुलाई गोपनीय र सुरक्षित(इन्क्रिप्टेड) गरिएको छ । तर उपकरणमाथि साइबर आक्रमण गरेर गोपनीयतालाई कमजोर बनाउन सकिन्छ ।  

error: Content is protected !!