सुनवलमा आजदेखि औद्योगिक मेला, विज्ञान प्रदर्शनीदेखि हात्तिसफारीसम्म

औद्योगिक मेला

मोहन पौडेल
परासी, ५ मंसिर । स्थानीय उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यले पश्चिम नवलपरासीको सुनवलमा आजदेखि प्रादेशिक औद्योगिक व्यापार मेला शुरु हुँदैछ । मङ्सिर १५ गतेसम्म ११ दिन सञ्चालन हुने उक्त मेलाको पूर्व तयारी पुरा भएको आयोजकले जनाएको छ ।
मेलाको आज एक समारोहकाबीच नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले उद्घाटन गर्ने कार्यक्रम छ ।
सुनवल नगरपालिकाको संरक्षकत्वमा उद्योग वाणिज्य सङ्घ सुनवलको आयोजनामा सञ्चालन हुने प्रादेशिक मेलामा नेपाली घरेलु, साना, घरेलु, ठूला उद्योग लगायत विदेशका वस्तुहरुसहित पहाडि जिल्लाका खनिजजन्य, कृषिजन्य र अन्य उत्पादनहरुसमेत गरी एक सय ६५ स्टल रहने सङ्घका अध्यक्ष रमेश कर्माचार्यले जानकारी दिनुभयो ।
एकलाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको उक्त मेलामा सात करोडसम्म आर्थिक कारोवार हुने लक्ष्य राखिएको उहाँले बताउनुभयो । मेलाको मूख्य आकर्षणको रुपमा डाईनोसर पार्क, जनजातिका घर, विज्ञान प्रदर्शनी, कृषि प्रदर्शनी, रथयात्रा, हात्तिसफारी, पर्यटकीय स्थलको भ्रमणका लागि जिप सफारी, रानीमहल आकृत्तिको मूल गेट रहेको संघका वाणिज्य उपाध्यक्ष लेखनाथ खरेलले जानकारी दिनुभयो ।
प्रदेशस्तरमा आयोजना हुन लागेको यस महोत्सवले उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध गाँसेर औद्योगिक तथा व्यापारिक चहलपहल बढाई आर्थिक चलायमान हुने, मुलुककै आर्थिक विकासमा टेवा पुग्ने, लगानी भित्राउने विश्वास गरिएको सङ्घका वाणिज्य उपाध्यक्ष खरेलले बताउनुभयो ।
मेला अवधिभर चर्चित कलाकाहरु पशुपति शर्मा, प्रकाश सपुत, कुलेन्द्र विश्वकर्मा, ज्योति मगर, रामजी खाँड, हेमन्त शर्मा, बैकुण्ठ महत लगायतको बजोड प्रस्तुति रहने संघका महासचिव तेजु भण्डारीले बताउनुभयो ।

error: Content is protected !!