परासीमा औद्योगिक व्यापार मेला शुरु, प्रचण्डद्धारा उद्घाटन

औद्योगिक व्यापार मेला

मोहन पौडेल
परासी, ३ मंसिर – पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आजदेखि “नवलपरासी औद्योगिक व्यापार मेला” शुरु भएको छ । पश्चिम नवलपरासी जिल्लालाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्दै लगानीको वातावरण बनाउने उद्देश्यले आयोजना गरिएको मेलाको आज एक भव्य समारोहका बीच पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभयो ।
अध्यक्ष प्रचण्डले निजी र सार्वजनिक अवधारणामार्फत सहकार्य गरी समृद्धिको दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले मधेससँग आफ्नो डिभोर्स होईन गहिरो प्रेम रहेको दाबी गर्नुभयो ।
नवलपरासी उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालन गरिएको मेलामा स्थानीयस्तरमा सञ्चालित घरेलु उद्योगदेखि बहुराष्ट्रिय कम्पनीका उत्पादनहरु प्रर्दशनीमा राखिएको सङ्घका अध्यक्ष केशव भण्डारीले बताउनुभयो ।
“धार्मिक, ऐतिहासिक, पुरातात्विक, औद्योगिक, कृषि, एवं पर्यटकीय सम्भावना बोकेको नवलपरासी जिल्लामा राष्ट्रिय एवं बहुराष्ट्रिय स्तरका उद्योगहरु सञ्चालनमा छन्, ठूला, मझौला र साना गरी ७०० बढी उद्योगहरु चालु अवस्थामा छन्, थप उद्योगहरु स्थापना हुने क्रम बढ्दो छ , यी उद्योगहरुको प्रवद्र्धन गर्दै साना ठूला लगानीकर्ताहरु भित्राउने हाम्रो उद्देश्य हो”, अध्यक्ष भण्डारीले भन्नुभयो ।
मंसिर १५ गतेसम्म सञ्चालन हुने उक्त औद्योगिक व्यापार मेलामा तयारी पोशाक तथा हस्तकला,जुत्ता छाला तथा छालाजन्य वस्तुहरु, घरेलु तथा लघु उद्यमीहरु द्धारा उत्पादीत वस्तु, आधुनिक कृषि उत्पादन र उपकरण, उर्जा तथा आधुनिक प्रविधि, सूचना तथा सञ्चारका आधुनिक उपकरण, पर्यटन सूचना केन्द्र लगायतका १९० स्टल प्रर्दशनमा रहेको सङ्घले जनाएको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय धरोहरुहरुको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्रय पर्यटक बढाउन मेलामा विशेष जोड दिएको सङ्घले जनाएको छ । मेलामा रामग्रामको प्रवद्र्धनका लागि रामग्राम स्तुपको आकृत्ति बनाईएको छ ।
रामग्राम नगरपालिकाको संरक्षकत्वमा पाँचौ पटक सञ्चालन गरिएको यस मेलामा दुई लाख दर्शकले अवलोकन गर्ने र पाँच करोड बढीको आर्थिक कारोवार हुने अनुमान गरिएको सङ्घका महासचिव गिरीराज पाण्डेले जानकारी दिनुभयो ।
उद्घाटन समारोहमा अर्थमन्त्री यूवराज खतिवडा, प्रतिनिधि सभा सदस्य द्धय हृदेशय त्रिपाठी र देवेन्द्रराज कण्डेल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्ष चण्डीराज ढकाल, केन्द्रीय सदस्य एवं सुनवल नगर प्रमुख भीमबहादुर थापा, मेला संरक्षक एवं रामग्राम नगर प्रमुख नरेन्द्र गुप्ता, समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादव, राजपा नेपालका जिल्ला संयोजक मुकुरजी गिरी, संघका वरिष्ठ उपाध्यक्ष ओमप्रकाश अग्रहरी, महासचिव गिरीराज पाण्डे लगायतले बोल्नुभएको थियो ।

error: Content is protected !!