कृषिमन्त्री पौडेलद्धारा भूमहीमा कृषि सहकारी बजारको उद्घाटन

सहकारी बजारको उद्घाटन

मोहन पौडेल
परासी, २८ कात्तिक – पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११, १२ मा स्थापना गरिएको कृषि सहकारी कृषि बजारको आज औपचारिक उद्घाटन गरिएको छ । आज सहकारी बजार परिसरमा आयोजित विशेष समारोहमा प्रदेश नं. ५ की भूमि व्यवस्था,कृषि तथा सहकारीमन्त्री आरती पौडेलले बजारको औपचारिक उद्घाटन गर्नुभएको हो ।
प्रदेश सरकारको रु ५० लाख र सहकारी संस्थाको रु ५० लाख गरी रु एक करोडको लागत तथा सुनवल नगरपालिकाको समेत संरक्षकत्वमा कृषि सहकारी बजार सञ्चालनमा ल्याइएको उक्त सहकारीले जनाएको छ ।
बजारको उद्घाटन गर्दै मन्त्री पौडेलले कृषिमा यूवाको आकर्षण बढाउन र कृषि उत्पादन बृद्धि गर्न प्रदेशले बनाएको सहकारी ऐनमा प्रदेश भित्रका सहकारीले कृषिमा ३० प्रतिशत लगानी गर्नुपर्ने प्रावधान व्यवस्था गरिएको बताउनुभयो ।
मन्त्री पौडेलले भन्नुभयो, “सहकारीको नाम कृषि राख्ने तर बचतमा सीमित भएर अव समृद्धि प्राप्त हुँदैन, कृषि सहकारीहरुले गाउँगाउँमा उत्पादन भएका कृषि उपजको बजारीकरण गरेमात्र नाम अनुसारको काम गरेको ठहर्छ, तसर्थ कृषि, बचत तथा ऋण लगायत जुनसुकै सहकारीलाई पनि कम्तिमा ३० प्रतिशत लगानी कृषि उद्यममा गर्नुपर्ने प्रावधान हामीले ऐनमा व्यवस्था गरेका छौँ उहाँले थप्नुभयो, बचत सहकारीहरुले विभिन्न कोषको नाममा करोडौँ रकम लगानी नगरी बचत गरेर राखेका छन्, यता कृषकले मल विउ किन्न सकिरहेको छैन्, अव यस्तो परिस्थितिको अन्त्य हुनुपर्छ ।
सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले कृषि बजारलाई प्रवद्र्धन गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले सहकारीका सवै सदस्यलाई कृषि उद्यम गर्न सहकारीले जोड दिनुपर्ने बताउनुभयो । कृषिमा पहिलो प्राथमिकता दिईएको बताउँदै उहाँले कृषि गर्न आवश्यक सीप प्रदान गर्न नगरपालिका तयार रहेको उल्लेख गर्नुभयो । सुनवल नगर उपप्रमुख दधिराम अर्यालले नगरपालिकाको समृद्धिको पहिलो आधार नै कृषि भएको उल्लेख गर्दै कृषि गर्न चाहने यूवाहरुलाई नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
सहकारीका अध्यक्ष देवीलाल डुम्रेका अनुसार बजारमा स्थानीय कृषकले उत्पादन गरेका तरकारी, फलफूल, खाद्यन्न लगायतका कृषि उपज पैँचौ पसलको अवधारणमा सञ्चालन गर्ने व्यवस्था मिलाईएको बताउनुभयो ।
कृषि बजार सञ्चालन समितिका अध्यक्ष उपेन्द्रमान प्रधानले आगामी दिनमा विषादी परिक्षण प्रविधि राख्ने तयारी पनि गरिएको बताउनुभयो । कृषि बजार स्थापना भएपछि स्थानीय कृषकले आफ्नो उत्पादनको उचित मूल्य पाउनुका साथै उपभोक्ताले पनि ताजा र अर्गानिक कृषि उपज सुपथ मूल्यमा प्राप्त गर्ने अध्यक्ष प्रधानले उल्लेख गर्नुभयो ।

error: Content is protected !!