परासीमा मेलाको तयारी तीव्र, झाँकी प्रदर्शनी भव्य बनाईने

परासी, २२ कात्तिक – आगामी मंसिर ३ गतेदेखि परासीमा सञ्चालन हुन लागेको नवलपरासी औद्योगिक व्यापार मेलाको तयारीलाई तीव्र पारिएको छ । मेलाको पूर्वसन्ध्यामा विभिन्न सरोकारवालाहरुसँगको छलफलसँगै मेला स्थलमा स्टल निर्माण लगायतका काम धमाधम भईरहेको मेला आयोजक उद्योग वाणिज्य संघ नवलपरासीले जनाएको छ ।
मेलाको उद्घाटनको क्रममा विभिन्न जातजातिको भेषभुषा, बाजागाजा तथा परम्परागत संस्कृति झल्कने झाँकी प्रदर्शन गरिने भएको छ । संघले आज विभिन्न जातिय संगठनहरुसँग गरेको छलफलमा स्थानीय यादव, जयसवाल, कोंहार, गुरुङ, मुस्लिम, कान्दु, शहानी लगायतका जातजातिहरुले आ–आफ्नो जातिय भेषभुषा र संस्कृति झल्कने झाँकी प्रदर्शन गर्ने प्रतिवद्धता जनाएका हुन् ।
उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ओमप्रकाश अग्रहरीको अध्यक्षता तथा महासचिव गिरीराज पाण्डेको सहजीकरणमा भएको उक्त कार्यक्रममा विभिन्न जातिय संगठनहरुको उल्लेखहरु सहभागिता थियो । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने मेलाको उद्घाटन गर्ने समारोहमा अर्थमन्त्री यूवराज खतिवडा, प्रदेशका मन्त्रीहरु, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा लगायतको सहभागिता रहने बताईएको छ ।

छलफल कार्यक्रम
error: Content is protected !!