इंग्ल्याण्डविरुद्धको तेस्रो खेलमा न्युजिल्याण्ड विजयी

एजेन्सी । इंग्ल्याण्डविरुद्धको तेस्रो टी–ट्वेन्टीमा न्युजिल्याण्ड विजयी भएको छ । जितसँगै न्युजिल्याण्डले पाँच खेलको सिरिजमा २–१ को अग्रता लिएको छ ।

१८१ रनको लक्ष्य पच्छ्याएको पाहुन टोली इंग्ल्याण्डले निर्धारित २० ओभरमा १६६ रनमा रोक्दै न्युजिल्याण्डले १४ रनको जित हात पार्‍यो । इंग्ल्याण्डका डेबिड मालनले ५५, जेम्स भिन्सले ४९ तथा टोम बन्टोन र कप्तान इयान मोर्गानले समान १८–१८ रन बनाए । इंग्ल्याण्डलाई कम स्कोरमा रोक्ने क्रममा न्युजिल्याण्डका लक्की फर्गुसन र ब्लेयर टिकरले समान २–२ विकेट लिए ।

यसअघि सेक्सटन ओवल, नेल्सनमा टस जितेर पहिले व्याटिङमा उत्रेको न्युजिल्याण्डले सात विकेटको क्षतिमा १८० रन बनाएको थियो । न्युजिल्याण्डका अलराउण्डर कोलिन डि ग्राण्डहोमले सर्वाधिक ५५ रनको अर्ध शतकीय पारी खेले । यस्तै, मार्टिन गुप्टिललले ३३, रोस टेलरले २७ तथा जेम्स निसमले २० रन बनाए ।

दुई टोलीबीचको चौंथो टी–ट्वेन्टी खेल शुक्रबार नेपियरमा हुनेछ ।

error: Content is protected !!